एक महिलाको पेटबाट निकालियो ७ किलोको मासुको डल्लो

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ७ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ। बिगत १२ वर्षदेखि पेटको समस्या झेल्दै आएकी कैलालीको गोदावरी नगरपालिका ११ कि ६० वर्षीया नरपता कामीको पेटबाट शल्यक्रिया गरेर उक्त ट्युमर निकालिएको अस्पतालले जनाएको छ।
एकाएक पेट फुलेर ठूलो र गाह्रो भएपछि ज्वाई रामबहादुरले सासुको धनगढीमै सिटी स्क्यान गराएका थिए। हेर्दा मासुको डल्लो देखिएको र क्यान्सको सम्भावना भएको अनुमान गरिए पनि सिटी रिपोर्ट हेर्दा क्यान्सर नभएको पुष्टि भएपछि अप्रेशन गरिएको अस्पतालले जनाएको छ।
नरपताको पेटबाट निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा, बरिस्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.मिराज आलम अन्सारीलगाएतको टिमले सल्यक्रिया सफल गरेको हो।
नरपताका ज्वाई रामबहादुर कामीका अनुसार १२ वर्ष अघि भारतमा चेकजाँच गर्दा सासु नरपताको पेटभित्र सानो मासुको डल्लो रहेको र अप्रेशन गर्नुपर्ने सुझाब डाक्टरले दिएका थिए।
केही समय औषधि मात्रै खाएर बस्दा नरपताको पेटको अकार १ वर्ष अघिदेखि भने अस्वाभाविक रुपमा ठूलो हुँदै गएको थियो। अप्रेशन गर्न नमानेपछि नरपताको पेटमा मासुको डल्लोले बिस्तारै आकार लिन थालेको परिवारका सदस्यले बताए।